
मेचीनगर, फागुन २३ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो-नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ ।


सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियो ।


भद्रपुरका लागि सुमिरन राईले ११ बलमा २२ रन बनाए । त्यस्तै, मनिष कर्माकारले ७ बलमा १८ तथा विष्णु कामतीले १२ बलमा १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा भद्रपुर ६९ रनमै समेटिएको थियोे ।


बलिङतर्फ झापाका लागि विक्रम यादवले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, प्रविण राईले २ विकेट हात पारे भने अर्पण कोइराला, दिपेन राजवंशी र सुविन राईले समान १–१ विकेट लिए ।

७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा झापाले ११.२ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
झापाका लागि एलिस मण्डलले १८ बलमा २८ रन बनाए भने अनुप श्रेष्ठले २८ बलमा २६ रन तथा विशाल पौडेलले ३ बलमा १३ रन बनाएका थिए ।


बलिङतर्फ भद्रपुरका अर्जुन यादवले २ तथा दिपेश कामतीले १ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच झापाका विक्रम यादव भए । उनले ४ विकेट लिएका थिए । उनले नगद १ हजार र मायाको चिनो पाए ।

प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतियोगिताको मुख्य उद्देश्य बाहुनडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुनडाँगी युवा क्लबले जनाएको छ ।