
बिर्तामोड, फागुन २४ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बाह्रदशी–५ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरेको छ ।


महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले दुई दिने अचार बनाउने तालिम सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।


बाह्रदशी ५ स्थित बुधबारे बजारमा गोलधाप सेवा केन्द्रअन्तर्गतका शेयर सदस्यहरुलाई वडा अध्यक्ष वीरबहादुरसिंह राजवंशीको प्रमुख आतिथ्यतामा अचार बनाउने तालिम कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक मेहरमान विष्टले जानकारी दिए ।


तालिममा कागती, आँप, अमला, लसुन, मुला, टमाटर लगायतको अचार बनाउन सिकाइएको छ । सहभागीलाई सुनिता बजगाईं र हृदयकुमारी संग्रौलाले अचार बनाउने तालिम प्रदान गरेका हुन् ।
सहकारीका अध्यक्ष सुवास भट्टराईले आमा दिदीबहिनीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफूलाई घर खर्च चलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले भूमिका खेल्ने संस्थाले जनाएको छ ।
