
बिर्तामोड, फागुन २५ । अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो ।
यसअघि निर्धारित समयमा बगानका लागि ५९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयमा शनिश्चरेका हेमन लिम्बूले गोल फर्काउँदै खेल टाइब्रेकरमा पुर्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच बगानका गोलकिपर देवेन भूजेल भए । उनले नगद ३ हजार र ट्रफी पाएको सचिव रविन राईले बताए ।
फागुन २७ गते हुने फाइनल खेलमा बगानले आयोजक बुट्टाबारी युनाइटेड क्लबको सामना गर्ने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।