२०८१ फागुन २७ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

इन्डो–नेपाल क्रिकेटः बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा


मेचीनगर, फागुन २६ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक समान २१÷२१ रन बनाएका थिए ।

लिम्बू र कार्कीले समान २० बल खेल्दै २१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा बुधबारे ७२ रनमै अलआउट भएको थियोे ।

बलिङतर्फ बाहुनडाँगीका लागि सन्तोष प्रधान र नाजिर हुसेनले समान ३–३ विकेट लिए भने अभिषेक दाहाल र रमण कार्कीले समान २÷२ विकेट हात पारे ।

७३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बाहुनडाँगीले १६.२ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । बाहुनडाँगीका लागि रोमन कार्कीले ३८ बलमा ५ चौकाको मद्दतमा २८ रन बनाए भने गणेश पौडेलले ७ बलमा १६ रन बनाएका थिए ।

बलिङतर्फ बुधबारेका लागि रिजन लिम्बूले सर्वाधिक २ विकेट लिए भने टेकेन्द्र कार्की, अर्जुज बराइली, मन्दिप खरेल र मिरोज सिटौलाले समान १÷१ विकेट हात पार्न सफल भए ।

प्रतियोगिताको प्लेयर अफ द म्याच बाहुनडाँगीका रोमन कार्की भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे । उनले ३ विकेट लिएका थिए भने सर्वाधिक २८ रन प्रहार गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Adv footer