
बितामोड, फागुन २६ । विवादका बीच एकलौटी रुपमा नयाँ कार्यसमिति चयन गरेको वीरता जेसिजले नेपाल जेसिजको आग्रहलाई लत्याउँदै पदस्थापन कार्यक्रमसमेत गर्न लागेको छ ।
नेपाल जेसिजको सचिवालयबाट अर्को सूचना नआउँदासम्मका लागि शाखामा कुनै पनि कार्य तथा गतिविधि नगर्न–नगराउन भनेर नेपाल जेसिजले पत्र पठाइरहँदा वीरता जेसिजले अटेर गर्दै भोलि पदस्थापन कार्यक्रम आयोजना गर्न लागेको हो ।
जुन कार्यको विरोध भएको छ । अध्यक्षका प्रत्यासी दिवाकरलाल चौधरी, वर्ष २०२४ का कोषाध्यक्ष टिकाराम खतिवडालगायतले पत्रकार सम्मेलन गरी नेपाल जेसिजले पठाएको पत्रलाई मानेर अवैधानिक रुपमा पदस्थापन कार्यक्रम नगर्न आग्रह गरेका छन् ।
उनीहरुले विधि र विधानलाई मिचेर ४४ औँ साधारणसभा गरिसकेपछि फेरि अर्को गल्ती नगर्न चेतावनीसमेत दिएका छन् ।
अध्यक्षका प्रत्यासी दिवाकरलाल चौधरीले नेपाल जेसिजले नयाँ कार्यसमिति विधिसम्मत नभएको भन्दै कुनै पनि कार्य नगर्न नगराउन आग्रह गरिरहँदा जबरजस्ती गर्ने दुस्साहस नगर्न चेतावनी दिए ।
वर्ष २०२४ का कोषाध्यक्ष टिकाराम खतिवडाले व्यक्तिगत स्वार्थ र केही सीमित व्यक्ति र केही सीमित राजनीतिक दलका व्यक्तिहरुका कारण बलजफ्ती रुपमा निर्वाचन भएको भन्दै त्यसलाई रद्द गरी नेपाल जेसीजको रोहवरमा अर्को निष्पक्ष निर्वाचन गरिनुपर्ने माग गरे ।
वीरता जेसिजको विवादका सम्बन्धमा सम्पूर्ण कागजात नेपाल जेसिजको सचिवालयमा पठाइसकेको नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राघव कोइरालाले बताए ।
जनवरी महिनाभित्र आयोजना गरिने पदस्थापन कार्यक्रममा मात्र जेसिजका पदाधिकारीहरु जान मिल्ने भएकाले भोलि आयोजना हुने पदस्थापन कार्यक्रमलाई आधिकारिक मान्न नसकिने उनले बताए ।
वीरता जेसिजको नयाँ कार्यसमितिको वैधानिकताका सम्बन्धमा नेपाल जेसिजको सचिवालयले प्राप्त कागजातहरुको छानबिन गरिरहेको जानकारी दिए ।
नेपाल जेसिजले ३ दिनको समय राखी आवश्यक कागजात पेश गर्न कोइरालालाई जिम्मेवारी दिएको थियो ।
शाखाको स्थलगत भ्रमण गरी वैधानिक रुपमा अधिकतम लचकता अपनाई दुवै पक्षसँग भेटघाट गरि शाखाको विवाद÷समस्या शाखामै समाधानका लागि अधिकतम पहल गर्ने, निर्वाचन सम्पन्न नभएका शाखाहरुमा नेपाल जेसिज तथा शाखाको विधान नबाझिने गरी आवश्यक भएमा शाखासँग समन्वय गरी शाखाकै वैद्य व्यक्ति वा निर्वाचन आयुक्त राखी पुनः निर्वाचनको प्रक्रिया सम्पन्न गर्ने गराउने, यदि विवादित दुवै पक्षले सहमति, एकता विधि र सहकार्यको सिद्धान्त विपरित गतिविधि गरेमा र समन्वयको परिधिभित्र नरही विवाद सिर्जना गरी बन्धुत्व र एकताको भावनाविपरीत गएमा उक्त शाखालाई निलम्बन गर्न समेत सकिने आधारहरु आफ्नो प्रतिवेदनमा समावेश गरी नेपाल जेसिजको दोस्रो सञ्चालक समितिको बैठकमा सिफारिस गर्ने कुरासमेत पत्रमा उल्लेख छ ।
त्यस्तै, आवश्यक कागजातसहित शाखाको समस्या÷विवाद समाधानको प्रतिवेदन नेपाल जेसिजको सचिवालयमा प्राप्त भएमा उक्त शाखालाई नेपाल जेसिजको राष्ट्रिय कार्यक्रममा सहभागी गराइने उल्लेख छ । राष्ट्रिय उपाध्यक्ष कोइरालालाई दिइएको सो पत्रको बोधार्थ वीरता जेसिजलाई दिइएको छ ।
भोलि बिर्ता पार्टी प्यालेसमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्ने गरी वीरता जेसिजले पदस्थापन कार्यक्रम गर्न लागेको बुझिएको छ ।
गत फागुन ७ गते विवादका बीच वीरता जेसिजको निर्वाचन भएको थियो भने त्यसलाई अवैधानिक भन्दै अध्यक्षका प्रत्यासी चौधरीले फागुन ९ गते नेपाल जेसिजमा उजुरी दिएका थिए ।
