२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

युएसएआइडीले सहयोग रोकेपछि झापाका दुई परियोजनामा प्रभावित


बिर्तामोड, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले सहयोग रोकेपछि झापामा सञ्चालित दुईवटा परियोजना प्रभावित भएका छन् ।

आम्दा नेपाल र लिड नेपालले सञ्चालन गरिरहेको एचआइभीसँग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो । युएसएआइडीको सहयोगमा गत अक्टुबरबाट दुई वर्षका लागि लिड नेपालले एचआइभीसम्बन्धी कार्यक्रम सुरु गरेको थियो ।

१७ जना कर्मचारी नियुक्त गरेर कार्यक्रम सञ्चालन गरिरहँदा एक्कासि कार्यक्रम रोकिएको जानकारी आएको लिड नेपालकी चञ्चला सुब्बाले बताइन् । उनले तीन महिनाको पारिश्रमिक खाएका कर्मचारीहरुले फेब्रुअरीदेखि पारिश्रमिक नपाएको जानकारी दिइन् ।

त्यस्तै, आम्दा नेपालले पनि एचआइभीसँग सम्बन्धित कार्यक्रम गर्दै आएको थियो । युएसएआइडीको सहयोगमा सञ्चालन भइरहेको सो कार्यक्रम पनि रोकिएको छ ।

युएसएआइडीले नेपालमा कुल ३१ करोड ९६ लाख ५१ हजार ७५ अमेरिकी डलरको (करिब ४४ अर्ब रुपैयाँ) विकास परियोजना बन्द गरेको छ ।

यस निर्णयले स्वास्थ्य, शिक्षा, कृषि, सुशासन, विपद् व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरूलाई प्रत्यक्ष रूपमा असर गरेको छ ।

नेपालमा लामो समयदेखि सञ्चालन भइरहेका यी परियोजनाहरूले आर्थिकवृद्धि, जनस्वास्थ्य सुधार र संस्थागत विकासमा योगदान गरिरहेका थिए ।

अमेरिकी सरकारले विभिन्न देशमा सञ्चालन भइरहेका यस्तै परियोजना बन्द भएको निर्णयको जानकारी केही दिनअघि सबै देशका आफ्ना सम्पर्क कार्यालय तथा युएसएडको कार्यालयलाई दिएको थियो ।

Adv footer