
बिर्तामोड, फागुन २९ । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ ।
शिवसताक्षी–१० माईधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउन्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार पीडित बनेको हो ।
थपलिया परिवारले न्यायका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गर्दै गरेको पर्खाल नबाउन र भोगचलन नगर्न पत्र पठाएपछि थपलिया परिवार पीडित बनेको छ ।
२०२५ सालमा फडानी गरेर २०३२ सालदेखि घर धुरीकर तिर्दै आएको र सो भोतभोग गर्दै आएको जग्गामा नगरले निर्माण कार्य रोक लगाएको थपलियाकी छोरी हरिमाया थपलियाले बताइन् । २ कठ्ठा १७ धुर जग्गा आफूहरुले जोतभोग गरिरहेको र त्यसलाई पर्खाल लगाएको उनको भनाइ छ ।
शिवसताक्षी नगरको न्यायिक समितले शान्ति सुरक्षा कार्यान्वयन गरिदिन भन्दै इलाका प्रहरी कार्यालय झिलझिलेलाई गत फागुन २६ गते पत्र पठाएको र सोही दिन आदेशको जानकारी कार्यान्वयन गरी मेलमिलापको लागि उपस्थित हुने सम्बन्धमा थपलिया परिवारलाई पत्र पठाएको छ ।
पत्र प्राप्तसँगै रामप्रसाद थपलिया बिरामी भएर हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा आइसियुमा उपचाररत रहेका उनकी छोरी हरिमाया थपलियाले बताइन् ।
‘यो क्षेत्रमा सबै ऐलानी जग्गामै बसेका छन्’, हरिमायाले भनिन्, ‘सबैले भोतभोग गरेको जग्गा सुरक्षित गर्न पर्खाल लगाएका छन्, तर हामीले पर्खाल लगाउँदा केही व्यक्तिले नगरमा निवेदन हालेर दुःख दिएका छन् ।’
‘दुईजना दाजु भए पनि पनि सिधा छन् उनीहरुले केही गर्न सक्दैनन, आमा पनि त्यस विषयमा केही गर्न सक्ने अवस्था हुनुहुन्न, बिरामी बुवा यो विषयले झन् बिरामी भएर अस्पतालमा हुनुहुन्छ’, उनले भनिन् ।
छिमेकी मञ्जु राजवंशीले पनि थपलिया परिवारलाई अन्याय गरिएको बताइन् । उनले थपलिया परिवार धेरै पुराना बसोबास गर्नेमध्ये एक भएको र उनीहरुले नै सो जग्गा भोतभोग गर्दै आएको बताएकी छिन् ।
थपलियाकी अर्की छोरी मनिषा थपलियाले आफूहरुले जोतभोग गर्दै आएको जग्गामा निर्माण कार्य गर्दा केही व्यक्तिहरुले धम्काउने हुँदाहुँदै नगरले समेत पत्र पठाएको विषयप्रति आपत्ति जनाएकी छिन् । उनले नगरले पक्कै न्याय दिनेमा आफू आशावादी रहेको बताएकी छिन् ।
यसैबीच, जग्गा विवादका विषयमा स्थानीय बेनुप्रसाद संग्रौलासहित तीनजनाले नगरपालिकामा निवेदन दिएपछि निर्माणाधीन पर्खाल निर्माण कार्य रोकिएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।
उनका अनुसार निवेदन परेकाले दुवै पक्षलाई राखेर छलफल गर्न लागिएको हो । कुनै पनि योजनामा विवाद आएपछि निर्माण कार्य बन्द गरिने र त्यसको समाधान खोजिने भएकाले हाललाई निर्माण कार्य रोकिएको कार्कीले बताइन् ।
एक स्थानीयबासीले थपलिया परिवार सोझो सिधा भएकाले केही व्यक्तिको हेपाइमा परेको बताए । उनले आफूले जन्मेदेखि सो स्थानमा थपलिया परिवार रहेको पाएको बताए ।
सो जग्गा उनीहरुले जोतभोग गरिरहेकाले जग्गामा उनीहरुकै अधिकार रहेको उनको भनाइ छ । राजनीतिक रुपमा शक्ति देखाएर निमुखाको उठिबास लगाउने प्रपञ्च गर्न खोजिएको उनको भनाइ छ ।