२०८१ चैत्र ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि


मेचीनगर, चैत २ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे झिनो गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।

जितसँगै चर्च ब्वाइजले झापा कपपछि उपाधिको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधि हात पारेको चर्च ब्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन ।

चर्च ब्वाइजले यो सिजन बिर्तामोडको झापा कप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो ।

चर्च ब्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझायो ।

जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले जाली चुमाएका थिए । उनको त्यही गोल प्रतियोगिताको उपाधि दिलाउन निर्णायक बन्यो ।

फाइनल खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङवा भए । उनले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक भए । उनीहरुले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद २१ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर चर्च ब्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।

पूर्व खेलाडी सम्मानित

सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगीता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मानपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षता तथा कोशीक प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

आयोजक समितिका सहसंयोजक विमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।

Adv footer