
मेचीनगर, चैत २ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थन्डर–११ फाइनल प्रवेश गरेको छ ।
सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै, विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे ।
बलिङतर्फ बाहुनडाँगीका लागि आयुष दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट हात पारे ।
२०६ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा बाहुनडाँगीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाउन सक्यो । बाहुनडाँगीका लागि राजेश थापाले सर्वाधिक ४६ रन बनाए भने गणेश पौडेलले १७ रन तथा आयुष दाहालले १४ रन बनाए ।
अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक बाहुनडाँगी सेमिफाइनलबाटै बाहिरिएको हो । थन्डरका लागि विराट डाँगी, शिव राजवंशी र एलिट राईले समान २/२ विकेट हात पारे ।
प्रतियोगिताको प्लेयर अफ द म्याच थन्डरका रोहित राजवंशी भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे ।
चैत ४ गते हुने फाइनलमा उपाधिका लागि थन्डर ११ ले पेनोरिस ११ को सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।