
बिर्तामोड, चैत ३ । तेस्रो संस्करणकाको नेपाल सुपर लिगमा कोशी प्रदेशको एक मात्र टिम झापा फुटबल क्लबले हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा घोषणा गरेको छ ।
क्लबका महासचिव सुजन गौतमले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लागि सो साझेदारीले क्लबको वित्तीय र व्यवस्थापकीय पक्षलाई अझ मजबुत बनाउने र झापा एफसीलाई आगामी लिगको तयारीमा थप बलियो बनाउने बताए ।
‘हामी हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ । यस बैंकको समर्थन र सहकार्यले हाम्रो क्लबलाई अझ मजबुत बनाउनेछ । साथै, यस साझेदारीले वित्तीय सुदृढीकरण गर्दै हाम्रो प्रयासलाई नयाँ उचाइमा पुर्याउनेछ’, महासचिव गौतमले भने ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, ‘झापा एफसी जस्ता प्रमुख क्लबसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । नेपालमा फुटबलको विकासमा हामीले निरन्तर योगदान दिँदै आएका छौँ, यो साझेदारीले खेलाडीलाई थप अवसरहरू दिनेछ ।’
साझेदारीसँगै झापा एफसी र हिमालयन बैंक नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गर्न, खेल भावना अभिवृद्धि गर्न र आगामी पुस्ताका फुटबल खेलाडीहरूलाई प्रोत्साहित गर्ने लक्ष्यमा प्रतिबद्ध रहेको क्लबले विश्वास लिएको छ ।