२०८१ चैत्र ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरको ‘उज्यालो’ चामलमा प्लास्टिक मिसाइएको भन्दै छानबिन सुरु


मेचीनगर, चैत ३ । झापा मेचीनगरको एक उद्योगबाट उत्पादित चामलमा प्लास्टिक मिसाइएको प्रहरीमा उजुरी दर्ता भएपछि छानबिन सुरु गरिएको छ ।

मेचीनगर-७ इटाभट्टाको राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्रान्डको मन्सुली चामलमा प्लास्टिक मिसाइएको दाबीका साथ मेचीनगर १० का नजरलाल राजवंशीले आज इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दर्ता गरेका थिए ।

राजवंशीले मेचीनगर–१० स्थित एक किराना पसलबाट चामल किनेका थिए । उनको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानबिन सुरु गरेको हो ।

डिभिजन कार्यालयबाट खटिएका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रहरी, उपभोक्ता अधिकारवादी, व्यवसायी र पत्रकारको रोहवरमा किराना पसलबाट उज्यालो ब्रान्डको चामलको बोरा खोलेर दुई केजी चामल शिलबन्दी गरेर खाद्य परीक्षणका लागि लगेका छन् ।

उक्त चामलको नमुनालाई विराटनगरस्थित प्रादेशिक खाद्य प्रयोगशाला पठाइने पोखरेलले बताए । प्रयोगशालाबाट जाँच रिपोर्ट आएपछि यस विषयमा थप कारबाही अघि बढाइने उनले बताए ।

किराना पसलका सञ्चालकले आफूले राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित चामल बोरामा प्याक भएर आउने हुँदा मिसावटका बारेमा आफूलाई कुनै जानकारी नहुने बताएका छन् ।

डिभिजन कार्यालयले जाँचको रिपोर्ट नआउञ्जेल मिसावट भएको दाबी गरिएको चामल बिक्री नगर्न उक्त पसललाई निर्देशन दिएको छ ।

Adv footer