२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइ आजदेखि, झापामा पोहोरभन्दा १२०६ जना बढीले परीक्षा लेख्दै


बिर्तामोड, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि सुरु हुँदैछ । झापामा यो वर्ष १७ हजार २८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

गत वर्ष १५ हजार ८२२ जना सहभागी थिए । यस वर्ष परीक्षार्थी संख्या पोहोरभन्दा एक हजार २०६ जना बढी हो । यो वर्ष छात्रातर्फ ८ हजार ७८४ तथा छात्रतर्फ ८ हजार २४४ परीक्षार्थी रहेका छन् ।

झापामा नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी छन् । ग्रेडवृद्धितर्फ ९९१ छात्रा तथा ८३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी छन् ।

प्राविधिक धारतर्फ २३९ छात्रा तथा २८३ छात्रा गरी कुल ५२२ परीक्षार्थी सहभागी हुने छन् । हाल झापाका १५ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् । जसमा बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान तथा कम्प्युटर इन्जिनियरिङ समावेश छन् ।

झापाका चार संस्कृत विद्यालयका ५४ परीक्षार्थी संस्कृत शिक्षातर्फ परीक्षामा सहभागी बन्नेछन् । देवी मावि बिर्तामोड र हिमालय मावि दमकका ७६ जना परीक्षार्थी खुला शिक्षातर्फ र सरस्वती मावि दमकका २ दृष्टिविहीन सहभागी हुने छन् ।

झापाका १३१ सामुदायिक तथा २३९ संस्थागत गरी ३७० विद्यालयका विद्यार्थीहरु एसइइमा सहभागी बन्ने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

झापामा ५७ केन्द्र निर्धारण

यो वर्ष झापामा एसइइ सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । केन्द्र निर्धारण गर्दा भौगोलिक अवस्था, भौतिक पूर्वाधार तथा विद्यालयको इच्छासमेतलाई दृष्टिगत गरी निर्णय गरिएको झापाका समन्वय इकाइ प्रमुख देवेन्द्रबहादुर मल्लले बताए ।

झापाका ५७ केन्द्रमध्ये प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फका ४ केन्द्र तय भएका छन् । अन्य केन्द्र साधारण धारतर्फका छन् ।

१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Adv footer