
बिर्तामोड, चैत १० । पाँचौँ संस्करणको एनएमएसआरए क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जितेको छ ।
विराटनगरमा सम्पन्न फाइनल खेलमा आयोजक नेपाल मेडिकल एन्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) विराटनगर इकाइलाई हराउँदै एनसिडिए झापा च्याम्पियन बनेको हो ।
एनसिडिए झापाले एनएमएसआरए विराटनगरलाई ३ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै एनसिडिए झापाले नगद ४१ हजार, ट्रफी र मेडल प्राप्त गरेको संघका झापा अध्यक्ष जीवनकुमार खड्काले बताए ।
उपविजेतामा सीमित एनएमएसआरए विराटनगरले नगद २५ हजार, ट्रफी र मेडलमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका अस्बिन महत भए ।

त्यस्तै, फाइनल खेलको प्लेयर अफ द म्याच भएका झापाका रोशन थापा उत्कृष्ट बलर घोषित भए । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान विराटनगरका लोमस निरौला भए ।
१३१ रनको लक्ष्य पछ्याएको झापाले ७ विकेटको क्षतिमा १९.३ ओभरमा १३४ रन बनाएको थियो । यसअघि विराटनगरले १८.२ ओभरमा अलआउट हुँदै १३० रन बनाएको थियो ।