
बिर्तामोड, चैत १५ । यातायात व्यवस्था कार्यालय झापा बिर्तामोडमा लामो समयदेखि लेखापढीको काम गर्दै आएका कनकाईका विशाल भण्डारीले छाप र अधिकृतको सही कीर्ते गरेर सेवाग्राहीको लाखौँ रुपैयाँ ठगेको पत्ता लागेको छ ।
उनले कर्मचारीकै मिलेमतोमा कार्यालयको छाप र अधिकृतको हस्ताक्षर कीर्ते गरेर सेवाग्राहीको रकम लिएर सम्पर्कविहीन भएको पीडितहरूको भनाइ छ ।
मोटरसाइकल, स्कुटर, ट्याक्टर लगायतका सवारी साधनहरूको कर तिर्न सेवाग्राहीबाट भण्डारीले रकम लिएर कार्यालयमा दाखिला नगरेको खुलेको हो ।
कर तिर्नका लागि यातायात कार्यालयमा सेवाग्राही पुग्दा सिस्टममा कर तिर्न बाँकी रहेको देखिएपछि सेवाग्राहीले आफूहरु ठगिएको थाहा पाएका हुन् ।
बिचौलिया भण्डारीले सेवाग्राहीहरूलाई दिएको बिलबुकमा यातायात व्यवस्था कार्यालयको छाप र अधिकृतको हस्ताक्षर छ ।
कार्यालयको छाप दुरुपयोग भए पनि रोक्नका लागि कार्यालयले कुनै पहल गरेको छैन । सेवाग्राहीहरूले आफूहरू पीडित भएको गुनासो पटकपटक कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटासमक्ष राख्दा पनि उनले कुनै सुनवाई नगरेको सेवाग्राहीको गुनासो छ ।
भण्डारीले कसैलाई फर्जी बिल उपलब्ध गराएको र कयौँको बाइक समेत बिक्री भएपछि नामसारी नगरेको पाइएको छ । साथै, बिलबुकमा आफैँले मिति, सही र छाप राखी सेवाग्राहीलाई ठगेका हुन् ।
कार्यालयका कोठामा राखिएका फाइलहरू, ढड्डाहरु, छापहरु, बिचौलियाले आफैँ बोकेर हिँड्ने गरेका छन् । त्यति मात्र नभएर सेवाग्राहीलाई दिएको बिल र कार्यालयमा रहेको भिट्याक्समा रकम नै फरक परेको पाइएको छ ।
कार्यालयको सिस्टम नै इरेज गरेर डाटा हटाएको तथ्य फेला परेको छ । यसअघिका वर्ष सेवाग्राहीले तिरेको कर सिस्टममा नै देखिँदैन ।
कार्यालयबाट हुने यस्ता त्रुटि सच्याउनतर्फ कार्यालय प्रमुख सापकोटाले ध्यान नदिँदा अझ पनि अन्य सेवाग्राहीहरु ठगिने जोखिम बढेको छ ।
त्यस्तै, सवारी चालक अनुमतिपत्रमा नागरिकता नम्बर, नामको अंग्रेजी अक्षर बिग्रेको, बुवाको नाम बिग्रेको, जन्म मिति बिग्रेको जस्ता कार्य तुरुन्तै सच्याइदिनु पर्नेमा सातामा एकपटक मात्र गर्ने भन्दै सेवाग्राहीलाई दुःख दिने गरेका छन् ।
सेटिङ मार्फत आएका सेवाग्राहीको भने रकम असुलेर तुरुन्तै गर्ने गरेका छन् । त्यस्तै, अस्थायी रुपमा प्रदान गरिने सवारी चालक अनुमतिपत्रको कार्ड बिहान १० बजेदेखि नै वितरण गर्नुपर्ने भए पनि २ बजेपछि मात्र वितरण गर्ने गरेको र सेटिङमा बिचौलियामार्फत आएकाहरुको भने तुरुन्तै गर्ने गरेका छन् ।