
बिर्तामोड, चैत १८ । झापामा २० हजार हेक्टर जमिनमा कृषकले चैते धानखेती लगाएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कृषकलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको हो ।
विगतमा ज्ञान केन्द्रले नमुना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् ।
स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । यो धानको बीऊ राखेको दिनदेखि १२० दिनमा पाक्ने विष्टको भनाइ छ ।
यस वर्ष गौरीगञ्ज, गौरादह, शिवसताक्षी, कमल, बुद्धशान्ति, अर्जुनधारा, भद्रपुर, हल्दिबारीमा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ ।
छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीऊ, बीऊ राख्ने ट्रे र प्राविधिक लगायतमा सहयोग गरेको जनाएको छ ।