
भद्रपुर, चैत १८ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले २६ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
राष्ट्रसेवक सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भद्रपुर–९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोमबार एक संक्षिप्त कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरेको हो ।
सहकारी अध्यक्ष वशिष्ठ अधिकारी, कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईंलगायतले विद्यार्थीहरूलाई ३० दर्जन कापी, पेन्सिल ३० प्याकेट तथा इरेजर, सार्पनर र डटपेन समेत गरी ३० हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुतन पौडेल र प्रधानाध्यापक निर्मला पौडेललाई हस्तान्तरण गरिएका थियो ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले सहकारीको आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्वको क्षेत्रमा छुट्याउने सहकारीको नियम अनुसार सोही नीति अनुरूप कार्य गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि गुरागाईं, संगठनका निवर्तमान अध्यक्ष केदार पोखरेल, ९ नम्बर का वडा अध्यक्ष राम दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले र स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक निर्मला पौडेलले राखेकी थिइन् ।