
बिर्तामोड, चैत १८ । बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे ।
वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेकाे यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । चैत २३ गतेसम्म हुने प्रतियोगितामा झापा जिल्लाका ४१ जना खेलाडीले सहभागिता जनाएको खेल संयोजक विशाल अग्रवालले जानकारी दिए ।
बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष शर्मा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा पहिलो चरण बेस्ट अफ थ्री, दोस्रो चरण बेस्ट अफ फाइभ, तेस्रो चरण बेस्ट अफ सेभेन र फाइनल राउण्ड बेस्ट अफ नाइनको फर्मेटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
यस प्रतियोगिताको विजेताले २१ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले ११ हजार नगद र ट्रफी तथा मेडल प्राप्त गर्नेछ । यस्तै, हाइएस्ट ब्रेकरले ५ हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।
नगरमै पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिता सम्पन्न गर्न १ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । नगर खेलकुद समितिका सदस्य रमेश उप्रेतीले स्वागत गरेको कार्यक्रम आशा गुरुङले सञ्चालन गरेकी थिइन् ।