
भद्रपुर, चैत १८ । झापाका निजामती कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ सोमबार २६ औँ स्थापना दिवस मनाएको छ ।
भद्रपुर-१० लेखनाथचोकस्थित मनोज झपेन्द्र स्मृति भवनमा आयोजित समारोहका बीच दुईजना ज्येष्ठ सदस्य र पाँचजना उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ ।
ज्येष्ठ सदस्य शंकरप्रसाद भण्डारी र पदमकुमारी नेपाल तथा उत्कृष्ट सदस्यहरु थिरराज कोइराला, देवी काफ्ले, चन्द्रबहादुर चौहान, नवराज खतिवडा र रुद्रबहादुर खड्कालाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संगठनका केन्द्रीय सचिव तेजप्रकाश भण्डारी, संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईं, अग्रज संगठक देवराज कार्की, पेशागत महासंघ झापा अध्यक्ष तुलसीप्रसाद भण्डारी, संगठन झापा अध्यक्ष हिरण्य न्यौपानेलगायतले उनीहरुले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज पोखरेलले गरेका थिए भने स्वागत उपाध्यक्ष डिल्ली ढकालले गरेका थिए ।
यसैबीच, संस्था र संगठनको संयुक्त आयोजनामा मंगलबार भद्रपुर-१० स्थित वीरेन्द्र नमुना क्याम्पस परिसरमा विशेषज्ञसहितको बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको र त्यसबाट लाभ लिन नगरबासीलाई अनुरोध गरिएको संगठन झापाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।