
बिर्तामोड, चैत १९ । झापा दमकका चूडामणि चापागाईंलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्ति गरिएको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको सिइओ नियुक्तिसम्बन्धी यसअघिको निर्णयलाई उल्ट्याएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सरकारले यसअघिको निर्णयलाई उल्ट्याएर चापागाईंलाई नियुक्त गरेको हो । चापागाईं पूर्वबैंकर तथा शिक्षक हुन् ।
सूचना तथा प्रविधिमा पनि अनुभव प्राप्त भएकाले प्रविधिको क्षेत्रमा सुधार गर्न सक्ने व्यक्तिको रुपमा उनलाई चिनिन्छ । सानिमा र सनराइज बैंकमा समेत काम गरेका चापागाईंसँग करिब २५ वर्षको अनुभव रहेको छ ।
नेपाल बैंकको सञ्चालक समिति सदस्य हुने पक्कापक्की भएका चापागाईंले अब नेप्सेको जिम्मेवारी सम्हाल्ने छन् ।
यसअघिको मन्त्रिपरिषदको बैठकमा अर्का प्रतिस्पर्धी नारदकुमार लुइँटेललाई सिइओ बनाउने निर्णय भएपनि ’माइन्युट’ हुनुअघि प्राप्त सूचनाको आधारमा सरकारले निर्णय उल्ट्याएको स्रोतको दाबी छ ।