२०८१ चैत्र २६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सडक आश्रितहरूको लागि १ करोडको अक्षयकोष स्थापना


बिर्तामोड, चैत २१ । झापामा मानव सेवा आश्रमले सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि एक करोडको अक्षयकोष स्थापना गरेको छ ।

सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए।

अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ ।

यसैबीच, अक्षयकोष स्थापना गर्न समाजसेवी नीलकण्ठ तिवारीले रकम प्रदान गरेर सुरुवात गरिएको छ । तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

मेचीनगर–४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रमका लागि स्थानीय रामबहादुर प्रधान र लक्ष्मी प्रधानले दुई बिघा पाँच कठ्ठा जमिन निःशुल्क प्रदान गरेका थिए ।

गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ । हाल यहाँ ४३ जना रहेका छन् ।

७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उनीहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँचजनाको देहान्त भएको विश्वकर्माले जानकारी दिए ।

आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने कोही नभएका, सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानवहरूको उद्धार गरी आश्रय दिँदै आएको छ ।

Adv footer