
बिर्तामोड, चैत २५ । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो ।
सहआयोजक इन्साइटफुल प्याथवेजका फणिन्द्र दाहालले अनौपचारिक ढंगले कार्यक्रम सञ्चालन गरेका थिए ।
संस्थाकी प्रबन्ध निर्देशक पुष्पाञ्जली ठकुरीले उद्घाटन मन्तव्य राख्दै विद्यालय तहमा करियर गाइड र व्यावसायिक सीप विकासको आवश्यकता र सम्भावना बारे प्रकाश पारेकी थिइन् ।
त्यस्तै, स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले स्किल ल्याबको परिचय गराउँदै विद्यार्थीहरूको करियर विकासका लागि ल्याबले खेल्ने भूमिका स्पष्ट पारे ।
स्किल ल्याबमार्फत करियर पहिचानदेखि निरन्तर सहकार्यको अवसरबारे सुदीक्षा राजभण्डारीले डेमोमार्फत जानकारी गराइन् ।
त्यस्तै, सिरिजंघाहाङ राईले स्किल ल्याबको विगत र वर्तमान अवस्थाबारे अनुभव सुनाउँदै उपलब्धि र सिकाइहरू प्रस्तुत गरे ।
निलाद्री परियालले विद्यालयहरूमा स्किल ल्याबलाई व्यवस्थित रूपमा स्थापना गरी अभिभावक, शिक्षक र विद्यार्थी सबैलाई समेटेर कसरी अघि बढ्न सकिन्छ भन्ने व्यावहारिक उपायहरू प्रस्तुत गरिन् ।
कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधिहरूले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा अझ मजबुत सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।