२०८१ चैत्र ३१ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेश पर्यटन वर्षः यस्ता छन् घुम्ने ठाउँ


बिर्तामोड, चैत २६ । कोशी प्रदेशमा पर्यटकस्तरीय होटलदेखि पाँचतारे होटलसम्म गरी ७ सय र २ हजारजति गेष्ट हाउस तथा लज छन् । एक दिनमा १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्नसक्ने क्षमता छ ।

प्रदेशमा साहसिक पर्यटनमा सगरमाथा आधार शिविर ट्रेक, मकालु वरुण ट्रेक, कञ्चनजंघा आधार शिविर, तिम्बुङ पोखरी ट्रेक, मुन्धुम ट्रेल, याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक, साइकलिङ एवम् साहसिक पर्यटनसँग सम्बन्धित खेलकुदले पर्यटकलाई आर्षित गरिरहेका छन् ।

कोशी टप्पु क्षेत्रको अर्ना र जलपंक्षी विश्वमै प्रख्यात छन् । त्यहाँ नेपालमा पाइने ८९५ प्रजातिमध्ये ५३५ प्रजातिका चरा पाइन्छन् ।

यसबाहेक सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र चो ओयु हिमाल महत्वपूर्ण छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्रका पाटे बाघ र घोरलहरू पर्यटक लोभ्याउने स्थान हुन् ।

त्यस्तै, रेडपाण्डा पदमार्ग, करसोङ पदमार्ग, डाग्बुङ पदमार्ग, जनजातिहरूको मौलिक खानपान, विभिन्न गुफा तथा पोखरीहरू ऐतिहासिक दरबारहरू, इलामको चियाबारीदेखि कन्याम, माइपोखरी, श्रीअन्तुहरू मनमोहक छन् ।

संखुवासभाको अरुण उपत्यका, सभापोखरी, गुफापोखरी, शिवधारादेखि मकालु हिमालसम्मका दृश्यहरू झनै मनोरम छन् ।

तेहथुमको तीनजुरे मिल्के जलजले क्षेत्रको मनमोहक लालीगुराँस क्षेत्रसँगै धनकुटाको भेडेटार तथा राजारानी पोखरीहरू पर्यटनको हब बनिसकेका छन् । भोजपुरको साल्पा सिलिचुङ, मैयूँ डाँडा, चखेवा भन्ज्याङले जो कोहीको मन बहलाउन सक्छ ।

झापाको केचनकवलदेखि सुनसरीको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र, बर्जुताल, तालतलैया, मोरङको विराट राजाको दरबार तथा सिमसार तथा आदिवासी जनजातिहरूको संस्कृति यहाँका पर्यटनसँग सम्बन्धित विषयहरू हुन् ।

त्यस्तै, ताप्लेजुङको पाथिभरादेखि खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र त हिन्दु, बुद्धिष्ट तथा किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र हुन् ।

पर्यटनको दृष्टिले रमणीय र हिमालै हिमाल र पहाडै पहाडले घेरिएको सोलुखुम्बु झनै मनमोहक छ । सगरमाथाले गर्दा विश्वले चिनेको सोलुखुम्बुमा सायद विश्वकै मानिसहरू आएको हुनुपर्छ । सगरमाथाबाहेक सोलुखुम्बुको मेरापिक, पाँचपोखरी, पिके डाँडा, पत्ताले, दुधकुण्ड, नाम्चे बजार यहाँका रमणीय क्षेत्र हुन् ।

पर्यटनको प्रचुर सम्भावना भए पनि प्रदेशको पर्यटन मन्त्रालय आफू स्थापित हुन नसकेको पर्यटनविद्हरूको दुखेसो छ ।
’प्रदेशको पर्यटन मन्त्रालयको अस्तित्व नै कहिले कुन मन्त्रालयसँग जोड्ने, कहिले फुटाउने, कहिले प्रदेश पर्यटन बोर्ड बनाउने आदि भयो ।

कहिल्यै संस्थागत र दिगो हुन सकेन,’ पर्यटनविद् तथा संस्कृतिकर्मी कृष्ण शाहले भने, ’हामीसँग अहिले पनि पर्यटनसँग सम्बन्धित विकासका लागि स्पष्ट नीति समेत छैन । हामी नीतिगत रूपमै पछाडि छौँ ।’

संविधानले पर्यटनलाई तीन तहकै साझा अधिकार क्षेत्रका रूपमा राखेकै कारण कहिलेकाहीँ विवाद सिर्जना हुने गरेको शाहले बताए । पर्यटनको क्षेत्रमा काम गर्नेहरू, सरकार तथा निजी क्षेत्रमा पनि पर्यटन चेतनाको कमी महसुस गरेको उनी बताउँछन् ।

पर्यटन व्यवसायी भविष श्रेष्ठले भारतीय पर्यटकहरूलाई नेपाल ल्याउने लक्ष्य देखिए पनि व्यवहारमा सुधार हुनुपर्नेमा जोड दिए ।

’यहाँ हुने बाधा, अवरोध र विभिन्न व्यवहारले उनीहरूलाई समस्यामा पर्ने गरेको छ । हामीले सबै पक्षसँग बसेर छलफल गर्नु आवश्यक छ,’ उनले भने ।

Adv footer