
बिर्तामोड, चैत ३० । झापामा यो वर्ष सुपारीको उत्पादनमा गिरावट आएको छ । हिउँदे वर्षा नहुँदा सुपारी उत्पादनमा असर परेको स्थानीय कृषकहरुले बताउँदै आएका छन् ।
अर्जुनधारा ३ खुदुनाबारका कृषक नरेन्द्रकुमार भण्डारीका अनुसार जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा फूल खेल्दा नै धेरै झर्ने समस्याले सुपारी उत्पादनमा गिरावट आएको हो ।
झापाका बुधबारे, बाहुनडाँगी र शनिश्चरे सुपारी उत्पादनमा नेपालमै अग्रणी मानिन्छन् । झापामा झन्डै ३ हजार हेक्टर क्षेत्रफल हाराहारीमा सुपारी खेती हुँदै आएको छ ।
कोशी प्रदेशमा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । अघिल्लो वर्ष कोशी प्रदेशमा १४ हजार ५६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।
बर्सेनि अर्बौं रुपयाँको सुपारी उत्पादन हुने खेतीको व्यवस्थापन र विकासमा सरकारले चासो नदिँदा कृषकहरु चिन्तित बनेका छन् ।
यद्यपि, हरियो डलरको उपमा पाएको सुपारी खेती झापामा बर्सेनि विस्तार हुँदै गएको छ । सुपारी खेतीमा सरकारको उचित पहल र चासो हुन नसकेको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताए ।
तिवारीका अनुसार सरकारले कृषिमा सुचिकृत नगर्नु र विदेशी सुपारी आयात रोकेर निर्यात नखोल्दा धेरै समस्या भएको छ ।
झन्डै ९ अर्ब रुपयाँभन्दा बढीको कारोबार हुने सुपारी खेती विस्तार हुँदै गए पनि भारत निर्यात हुन नसक्दा किसानले सहज बजार पाउन सकेका छैनन् ।
स्थानीय सरकारले पहल गरे पनि माथिल्लो तहका सरकारले चासो नदिँदा बजारको समस्या समाधान हुन नसकेको बुद्धशान्ति १ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता अनिल वाग्लेले बताए ।
उनका अनुसार पालिकाले अनुदान उपलव्ध गराए पनि बजार र विक्रीको समस्याले किसानहरू पीडित भएका छन् ।