
बिर्तामोड, चैत ३१ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बोनम्यारोको समस्याबाट ग्रसित एक बालकलाई आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावका कारण आफ्ना ४ वर्षीय छोरा उज्ज्वल ठाकुरलाई उपचार गराउन नसकिरहेका बिर्तामोड-५ जात्रुबारीका मुकेश ठाकुर र पिंकी राजवंशी ठाकुरलाई रोट्रयाक्ट क्लब अफ बिर्तामोडले १५ हजार नगद सहयोग गरेको हो ।
भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने आफ्ना छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भइरहेको बुवा मुकेश ठाकुरले बताए ।
आफूहरुको संस्था आर्थिक रुपले सबल नभए पनि सदस्यहरुबाट संकलन गरी ठाकुरलाई आर्थिक सहयोग गरेको रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष प्रज्ज्वल बिमलीले बताए । उनले यस किसिमका सामाजिक कार्यहरु संस्थाले निरन्तर गर्दै आएको जानकारी दिए ।
बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रवेश बस्नेत, पूर्वअध्यक्षहरु दिवाकर प्रसाईं, राज मुखिया, वसन्त ढकाल, वसन्त बुढाथोकी, बाप्पा शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन क्लब एडमिन चेयरपर्सन श्रद्धा प्रसाईंले गरेकी थिइन् । कार्यक्रमको दोस्रो चरणमा नयाँ सदस्यहरुका लागि इन्डक्सन कार्यक्रम राखिएको थियो ।
कार्यक्रमको सहजीकरण बाप्पा शाहले गरेका थिए । कार्यक्रममा १५ जना नयाँ सदस्यहरुको उपस्थिति रहेको थियो ।