
बिर्तामोड, बैशाख १ । झापाको भद्रपुरमा हुने गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक भएको छ ।
यही बैशाख ६ गतेदेखि हुने प्रतियोगिता मेची रंगशालाको मैदानमा सञ्चालन गरिने आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।
राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा हुने प्रतियोगिताको उद्घटन खेलमा हिमाली युनाइटेड क्लब भद्रपुर र झिलझिले भेट्रान एफसी खेल्ने भएका छन् ।
पहिलो दिन नै काँकरभिट्टा भेट्रान एफसी र दमक भेट्रान एफसीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत प्रत्येक दिन दुईवटा खेल हुने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।
बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
झापाका ११ र मोरङको एउटा टिमको सहभागिता रहने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ ।