२०८२ बैशाख २ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

शिक्षक आन्दोलनः विद्यालय बन्दको घोषणा, कक्षा १२ को परीक्षा बहिष्कार


बिर्तामोड, बैशाख २ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

‘हामीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

कक्षा १२ को परीक्षा बैशाख ११ गतेदेखि सुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्दको घोषणा गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । महासंघले शैक्षिक हड्तालको घोषणासमेत गरेको छ ।

Adv footer