२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पर्यटकको पर्खाइमा इलामको रमणीय गुफा पाताल


गुफा पातालको समथर डाँडाबाट सूर्यास्त कैद गर्दै पर्यटक ।

विनिशा शर्मा

बिर्तामोड, बैशाख ३ । नयाँ वर्ष मनाउन र विद्यालय विदाको सदुपयोग गर्न इलामको गुफा पाताल उपयुक्त गन्तव्य हुनसक्छ । नेपालीहरु खासै नपुग्ने इलामको सूर्योदय-४ मा रहेको गुफा पातालमा पाँचवटा होमस्टे रहेका छन् ।

एसइइ सकिएर फुर्सदिला भएपछि बुवाआमासँगै घुम्न जाने योजनामा रहेका विद्यार्थी र छुट्टी मनाउन नयाँ गन्तव्यको खोजीमा रहेका नेपालीका लागि इलामको सीमावर्ती गाउँ गुफा पाताल मनमोहक गन्तव्य हुनसक्छ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सूचीमा चर्चा नगरिएको गुफा पाताल भारतीय गाउँ छब्बिसेसँगै जोडिएको छ । भारतको मिरिक नजिकै रहेकाले त्यहाँ पुग्ने अधिकांश भारतीय पर्यटक गुफा पाताल आउने गरेका छन् ।

दार्जिलिङ, मिरिक घुम्न आउने भारतीय र बंगलादेशी पर्यटकहरु एक दिनका लागि भए पनि गुफा पाताल पुग्ने गरेका छन् । गुफा पातालको छेवैमा मेची नदीको उद्गमस्थल पनि देख्न सकिन्छ ।

त्यस्तै, यहाँबाट कञ्चनजंघा हिमाल, सूर्योदय तथा सूर्यास्त, विभिन्न जीवजन्तु, वनस्पति र पहाडी सुन्दरताको दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटकहरुको लागि आकर्षक हुन थालेको स्थानीय माउन्ट भ्यु होमस्टेका सञ्चालक रविन प्रधानले जानकारी दिए ।

गुफा पातालबाट देखिएको कञ्चनजंघा हिमालको दृश्य ।

गुफा पातालबाट राति तथा बिहान, दिउँसो मौसम खुलेको बेला मिरिक, दार्जिलिङ, खर्साङ, इलाम तथा झापालाई देख्न पाउँदा रोमाञ्चक अनुभव हुन्छ ।

गुफा पातालको समथर डाँडोमा बसेर चिसो हावा र हुस्सुसँगै लुकामारी खेल्दै रमाइलो गर्ने भारतीय समूहको घुइँचो नै हुने गरेको छ ।

गुफा पातालको समथर डाँडामा मज्जा लिँदै पर्यटक ।

सरकारको उपेक्षा

सूर्योदय वडा नम्बर ४ मै श्रीअन्तु पनि पर्ने भएकाले सरकारी बजेटबाट गुफा पाताल निक्कै टाढा छ । २०६१ सालमै समिति दर्ता गरेर सामुहिक रुपमा जग्गा किनेर संरक्षण गरिए पनि राज्यबाट गुफा पाताल उपेक्षित छ । गुफा पातालमा होमस्टे सञ्चालन गर्ने सबै स्थानीयको स्वर एउटै छ, ‘यो ठाउँलाई सरकारले हेरेन ।’

गुफा पाताल जाने बाटोमा पर्ने तीन ब्लकको मेची बजार ।

स्थानीय बुद्धिलाल तामाङले दान दिएको एक रोपनी जग्गामा स्थानीयले रकम संकलन गरेर सात रोपनी बनाएर हाल घेराबारा गर्दै भ्यु टावर बनाएका छन् । तर, भ्यु टावर पनि अपूर्ण रहेको स्थानीय होमस्टे सञ्चालक मदन गुरुङले बताए ।

सबैभन्दा आवश्यक त छिरुवाबाट गुफा पातालसम्म पुग्ने सडक जीर्ण छ । भारतीय पर्यटकका लागि उत्तम गन्तव्य भए पनि नेपाली पर्यटक भने सडकका कारण आउन सकिरहेका छैनन् ।

गुफा पातालबाट देखिने सूर्योदय हेर्दै पर्यटक ।

श्रीअन्तु नजिकैको छिरुवाबाट ६ किलोमिटरको उकालोमा रहेको गुफा पातालसम्म पुग्न पक्की सडक बनिए श्रीअन्तुभन्दा उत्कृष्ट र सुन्दर गन्तव्य हुने नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स कोसीका महासचिव नविन खरेलले बताए ।

पाँच वर्षदेखि होमस्टे सञ्चालन गर्दै आएका प्रधानका अनुसार नेपालपट्टि कच्ची बाटोका कारण आन्तरिक पर्यटक आउन सकेका छैनन् ।

नेपालतर्फबाट सुविधायुक्त सडक नभएकै कारण आन्तरिक पर्यटक भित्र्याउन नसकिएको स्थनीय होमस्टे सञ्चालक शान्ति शेर्पाले बताइन् ।

Adv footer