२०८२ बैशाख ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने


बिर्तामोड, बैशाख ३ । झापा बिर्तामोडको देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीमा एसइइ दिएर बसेकादेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहनेछ ।

यही जेठ १ गतेदेखि ३ गतेसम्म हुने प्रदर्शनीमा कोशी प्रदेशका प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय सहभागी गराइने आयोजकले जनाएको छ ।

विज्ञान शिक्षक समाजको समन्वय तथा नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा हुन लागेको प्रदर्शनीका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिनेछ भने अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा २० वटा व्यावसायिक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने पोखरेलले बताए ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भइरहेको आयोजकको भनाइ छ । कार्यक्रममा युथ पावर फाउन्डेसनले स्वयमसेवकको व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।

Adv footer