
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारा र इलामको माई नगरपालिकाको सीमा क्षेत्रको वनमा नेपालमै नयाँ चरा भेटिएको जनाइएको छ ।
बैजनी रंगको सो चरा कोइली समूहको भएको अनुसन्धानदाताहरुले बताएका छन् । नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको सो चराको नाम ‘बैजनी कोइली’ राखिएको छ ।
योसँगै नेपालको अभिलेखमा चराका प्रजातिको संख्या ८९९ पुगेको छ । नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान सो भाले चरा देखेका थिए ।
उनीसँगै रहेका दुईजना मलेसियन नागरिक र नेपाली चराविद् अनिस तिम्सिनाले पनि चरा अवलोकन गरेका थिए । उनीहरुले करिब २० मिटरको दूरीबाट सो चराको फोटो र भिडियो खिचेका थिए ।
विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डक्टर तुलसी सुवेदीले बताए ।
कमिटीका अनुसार यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, आलोस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रुपमा पाइन्छ ।
यसले भुटान, फिलिपिन्स र सिंगापुरमा प्रजनन गर्छ । विश्वमा यस चराका दुई उपप्रजाति अभिलेख भएका छन् ।
तस्वीरः इन्टरनेट