
बिर्तामोड, बैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी प्रदेशको झापामा आज बिहान ०३ः१४ बजेदेखि सामान्य मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । ०७ः२५ बजेसम्म झापाको आकाशमा बादल धुम्म छ भने सिमसिम पानी परिरहेको छ ।
शुक्रबारसम्म कोशीसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना छ । पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमबारसम्म रहने मौसमविदको अनुमान छ ।
आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।
साथै, बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका तराई तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मेघगर्जन, चट्याङ, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् ।