
बिर्तामोड, बैशाख ४ । इंग्लिस क्लब आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले यसअघि सन् २००८–०९ को सिजनमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
बुधबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन बुकायो साका र ग्याब्रियल मार्टिनेलीले गोल गरे । घरेलु टिम स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
आर्सनलसँग २–१ ले पराजित हुँदै समग्रमा ५–१ को नतिजासहित रियल म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको हो ।
आर्सनलले समग्रमा ५–१ को जित निकाल्दै अन्तिम–४ को यात्रा तय गरेको हो । यसअघि पहिले लेगमा आर्सनल ३–० ले विजयी भएको थियो ।
१६ वर्षपछि सेमिफाइनल प्रवेश गरेको आर्सनलले अब अन्तिम–४ मा पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध प्रतिस्पर्धा गर्नेछ । पिएसजीले यसअघि एस्टन भिल्लाविरुद्ध समग्रमा ५–४ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यससँगै च्याम्पियन्स लिग २०२४–२५ सिजनको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम–४ मा प्रवेश गर्ने चार टोलीको टुंगो लागेको हो ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको बार्सिलोना, इटालीको इन्टर मिलान, इंग्ल्यान्डको आर्सनल र फ्रान्सको पिएसजीले स्थान बनाएका छन् ।
सेमिफाइनलमा अब बार्सिलोनाले इन्टरविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको पहिलो लेग अप्रिल २९ र दोस्रो लेग मे ६ मा हुनेछ । तालिकाअनुसार पहिलो लेग बार्सिलोना र दोस्रो लेग मिलानमा हुनेछ ।
सन् २०१० मा जोसे मोउरिन्होको नेतृत्वमा इन्टरले बार्सिलोनालाई सेमिफाइनलमा हराउँदै च्याम्पियन्स लिग जितेको थियो ।