
बिर्तामोड, बैशाख ४ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत यही बैशाख ६ र ७ गते देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइनेछ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई बालभिटा खुवाइनेछ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयमसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
सरकारले भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । त्यस्तै, २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।
प्रत्येक वर्ष कात्तिक र बैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।