
बिर्तामोड, बैशाख ६ । झापाको बिर्तामोडमा रहेको एक प्लाई उद्योगमा हिजो राति आगलागी भएको छ । बिर्तामोड-२ चैतुबारीमा रहेको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी हुँदा ९० लाख रुपैयाँबराबरको क्षति भएको छ ।
हिजो राति ९ः३० बजेतिर बिर्तामोड-२ चैतुबारीमा लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको रिद्धिसिद्धि प्लाई उद्योगमा प्लाई सुकाउने ड्रायर मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट प्लाई सुकाउने मेसिन जल्दा अन्दाजी ९० लाख रुपैयाँबराबरको क्षति भएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली, स्थानीयबासी, फ्याक्ट्रीका कामदार र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १०ः२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।