
बिर्तामोड, बैशाख ६ । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका–३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ ।
जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको कसुर (बाल यौन दुव्र्यवहार)मा एक वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।
भट्टराईविरुद्ध सोही विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने तीन बालिका ‘छ’, ‘ज’, र ‘झ’ (सांकेतिक नाम) ले इलाका प्रहरी कार्यालय दमकमा गत भदौमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो ।
अदालतले उनलाई प्रत्येक मुद्दामा एक–एक वर्ष कैद, जनही १० हजार जरिवाना (कुल ३० हजार) र जनही ४० हजार क्षतिपूर्ति (कुल एक लाख २० हजार) तोकेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।
प्रत्येक मुद्दामा एक–एक वर्ष गरी तीन वर्ष कैद हुन आउँछ । तर, उनले एक वर्ष मात्र कैद सजाय कटाए हुने सूचना अधिकारी बस्नेतले बताए ।
शिक्षक भट्टराईले ती बालिकालाई विद्यालयमै यौन दुर्व्यवहारर गरेका थिए । उनले कक्षाकोठामा गृहकार्य जाँच गर्ने क्रममा बालिकाहरूको संवेदनशील अंग चलाउने, ढाड मुसार्नेलगायत यौन दुर्व्यवहार गर्ने गरेका थिए ।
मुद्दा दर्ता भएपछि जिल्ला अदालत झापाले तीनवटै मुद्दामा २०८१ असोज ४ गते ६ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, बिहीबार अदालतले फैसला गर्दै उनलाई कैद सजाय तोकेको हो ।
शिक्षक भट्टराई सहिद धर्मभक्त माध्यमिक विद्यालयका मावि तहका शिक्षक हुन् । उनी धरौटीमा रिहा भएपछि पनि निरन्तर विद्यालय गएर पढाइरहेका थिए । त्यति मात्र होइन, उनलाई कैद सजाय भएपछि उनी विद्यालय गइरहेका छन् । उनले शुक्रबार पनि विद्यालयमा पुगेर हाजिर गरेका थिए ।
अहिले दोषी ठहर शिक्षक भट्टराईमाथि यसअघि पनि विद्यालयकै छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।
पीडितले २०७७ माघमा इलाका प्रहरी कार्यालयमा दमकमा जाहेरी दिए पनि बालिकाका परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएर मुद्दा दर्ता गर्नबाट रोकिएको थियो ।