२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रानः टाइब्रेकरमा हिमाली भाग्यमानी


भद्रपुर, बैशाख ६ । टाइब्रेकरमा झिलझिले भेट्रान एफसीलाई हराउँदै भद्रपुरको हिमाली भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी भएको छ ।

आज भद्रपुरको मेची रंगशालामा भएको दोस्रो खेलमा झिलझिले भेट्रान एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै हिमाली क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको २५ औँ मिनेटमा प्रेमकुमार लिम्बूले गोल गर्दै हिमालीका लागि सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ४४ औँ मिनेटमा झिलझिलेका भीमकुमार राईले गोल गर्दै खेल बराबारीमा ल्याएका थिए । खेलको प्लेयर अफ द म्याच हिमालीका गोलकपिर विनोद देवान भए । उनले नगद २१०० रुपैयाँ पाए ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer