मेचीनगर, बैशाख ७ । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सीमावर्ती पानीट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश, बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार, सोही ठाउँ बस्ने २४ वर्षीय शुभंकर दास र पानीटयाङ्की बस्ने ३२ वर्षीय राहुल अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई चोरी भएको तारसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । उनीहरुले मोरङको बेलबारीबाट केवलको तार चोरेको प्रहरीले जनाएको छ ।
मेचीनगर–७ इटाभट्टास्थित बस स्टेन्डमा रहेका उनीहरुमाथि शंका लागेर उनीहरुले बोकेको सातवटा बोरा जाँच गर्दा बोराभित्र टुक्रा बनाएर प्याकिङ गरेको तार भेटिएको थियो ।
मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरुले तार चोरी गरेको खुलेको छ ।
सो तार भारतको पानीट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरुले लैजान लागेको प्रहरीले जनाएको छ ।