२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

ताप्लेजुङमा जिपमा लागो लाग्दा भद्रपुरका तीनसहित चारजनाको मृत्यु


बिर्तामोड, बैशाख ८ । ताप्लेजुङको फुङलिङ-१० गन्द्रे र तेर्सेको छेउमामा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जिप दुर्घटना हुँदा झापा भद्रपुरका तीनजनासहित चारजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर-८ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, भद्रपुर मावली घर भई ललितपुरकी १६ वर्षीया आध्या आचार्य र फुङलिङ १० का सवारी चालक दुर्गा भट्टराई रहेका छन् ।

दुर्घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ ।

यात्रु लिएर पाथिभरातर्फ जाँदै गरेको मे .१ ज ३०११ नम्बरको जिप पाथिभरा क्षेत्रको सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो ।

बिजुलीको पोलबाट लत्रिएको तारमा जिपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो । झापाबाट आफ्नो सवारी साधन लिएर हिजो ताप्लेजुङ गएका उनीहरु आज बिहान ताप्लेजुङबाट पाथिभरा दर्शन गर्न अर्को भाडाको गाडी लिएर गएका थिए ।

Adv footer