
भद्रपुर, बैशाख १० । गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको हिजो भएको अन्तिम क्वार्टर फाइनल खेलमा चारपाने युनाइटेड भेट्रान एफसीले एकजना खेलाडी कम उमेरको खेलाएको पुष्टि भएको छ ।
खेल नियमविपरीत खेलाडी समावेश गराएपछि चारपानेलाई आयोजक चन्द्रगढी भेट्रान क्लबले कारबाही गरेको छ । कारबाहीपछि चारपाने खेलबाट बाहिरिएको छ ।
कारबाहीपछि खेलको नतिजा उल्टिएको छ । ३-१ को जित निकालेको चारपानेले चन्द्रगढीलाई नतिजा सुम्पिन बाध्य भएको छ । चन्द्रगढी सेमिफाइनलमा प्रवेश गरेको छ । यसैबीच, चन्द्रगढीले फाइनल प्रवेशका लागि आज दुधे भेट्रान क्लबको सामना गर्दैछ ।
राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।
बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।