२०८२ बैशाख ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आँखा अस्पतालको मुहार फेरेका गुरुङ पुनः अध्यक्ष निर्वाचित


बिर्तामोड, बैशाख ११ । मेची आँखा अस्पताल (संघ) को अध्यक्षमा पुनः जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । झापाका सामाजिक तथा खेलकुद अगुवा गुरुङ दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

आज बिर्तामोडस्थित अस्पतालमा भएको साधारणसभाले गुरुङको नेतृत्वमा सचिवबाहेक सबै पदमा अघिल्लै समिति दोहोरिएको छ । सचिवमा सुरज खत्री चयन भएका छन् ।

बहुमत सदस्यहरुले वर्तमान सचिव गणेश पोखरेलका पक्षमा सहमति नजनाएपछि खत्री सर्वसम्मत चयन भएको बताइएको छ ।
त्यस्तै, समितिको उपाध्यक्षमा सुरेश वंशल, र कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल दोहोरिएका छन् ।

सदस्यहरुमा छत्र अधिकारी, दिनेश मित्तल, भरतलाल गिरी, भीम गुरुङ, चण्डीराज पराजुली, डक्टर गोपाल पोखरेल र गणेश पोखरेल चयन भएका छन् ।

साधारणसभाले अध्यक्ष गुरुङको प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । अध्यक्ष गुरुङले अस्पतालको हालसम्म विस्तार गरिएको सेवा र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

गुरुङको प्रशंसायोग्य पहिलो कार्यकाल

तीन वर्षअघि पहिलोपटक अध्यक्ष भएपछि गुरुङले अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययनको तयारी गरेका छन् ।
अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल साइन्स (नाम्स) सँग सम्झौता भइसकेको छ । निकट भविष्यमा सम्पूर्ण मापदण्ड पूरा गरेर कलेज सञ्चालन गरिने उनले झापा टुडेलाई बताए ।

त्यस्तै, रोटरी क्लबसँगको सहकार्यमा मोबाइल ओपथाल्मिक भ्यान सञ्चालनको तयारी सुरु गरिएको छ । आँखा अस्पतालमा हुनुपर्ने सम्पूर्ण उपकरणसहितको सो भ्यानले आँखा शिविर तथा बिरामी भएकै ठाउँमा पुगेर उपचारमा सघाउने गुरुङले बताए ।

अस्पतालले कोर्निया तथा रिफ्राक्टिभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लास्टी, अर्थोअप्टिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू जडान गरेको छ ।

अस्पतालमा लेजर अप्रेसनको सुरुवात गरिएको छ । लेजर अप्रेसन गरेका आँखाका बिरामीले चश्माको प्रयोग गरिरहनु पर्दैन ।

अध्यक्षको रुपमा गुरुङ आएपछि अस्पतालमा व्यापक सुधारका कामहरु भइरहेका छन् । सैनिकमोडमा सरेको डेढ दशक बितिसक्दा पनि अस्पतालले वातावरणीय प्रभाव मूल्यांकन गर्न सकेको थिएन ।

तर, स्पष्ट दृष्टिकोण, प्रस्ट योजना र काम गर्ने इच्छाशक्ति भएकै कारण गुरुङले वातावरणीय प्रभाव मूल्यांकनको काम सकेका छन् ।

गुरुङ अध्यक्ष भएर गरेको पहिलो निर्णय थियो, अस्पतालमा नाला बनाउने । पानीको निकास नहुँदा अस्पतालमा पानी जम्थ्यो ।
दोस्रो निर्णय थियो, पर्किङ ।

हाल अस्पतालमा अन्तर्राष्ट्रियस्तरको सवारी साधन पार्किङ छ । झापाको एक मात्र साइकल पार्किङ छ । निकट भविष्यमा बहुतले पार्किङ बनाउने गुरुङले योजना सुनाए ।

बिरामीको सुविधाको लागि अस्पतालमा दुईवटा लिफ्ट सञ्चालनमा आएका छन् । आकर्षक पार्क बनिसकेको छ । सुन्दर झार र फूलले गर्दा बिरामीले आनन्द लिने गरेका छन् ।

अस्पतालको अग्रभागमा मास लाइट जडान गरिएको छ भने बुद्धको आकर्षक प्रतिमा स्थापना र अस्पतालको प्रवेशद्वार नजिकै रहेको आइल्यान्डमा अभिभावकलाई सन्तानले डोहोर्‍याउँदै गरेको दुईवटा प्रतिमा स्थापना गरिएको छ ।

बिरामी र कुरुवाका लागि बस्ने ठाउँ, चिकित्सक र कर्मचारीका लागि स्तरीय तथा आकर्षक खेलमैदान तथा थप आवासगृह, उपचार तथा जाँच कक्षहरु थप, बनियानी र भद्रपुरमा आफ्नै भवनसहितको आँखा अस्पतालको सञ्चालनको अन्तिम तयारी लगायतका काम गुरुङ अध्यक्ष भएर आएपछि भएका काम हुन् ।

चार बिघा क्षेत्रफलमा रहेको अस्पतालमा व्यापक सुधार आउनुको कारण गुरुङ अनुभवी भएर नै हो । व्यवस्थापकीय जिम्मेवारीमा उनी निपुण भएकै कारण परिवर्तन आएको हो ।

मेची आँखा अस्पताल सामुदायिक अस्पताल भएकाले रकम अभावमा उपचारबाट कोही पनि बञ्चित हुनु नपर्ने उनको भनाइ छ । गुरुङ आफ्नो सफलताबारे भन्छन्, ‘आफू जे कामका लागि हो, त्यसमै केन्द्रित हुनुपर्छ, अनि मात्र प्रतिफल आउँछ । नत्र लथालिंग हुन्छ ।’

Adv footer