२०८२ बैशाख ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रान फुटबलः ढल्के जोवन उर्लाबारी फाइनलमा


बिर्तामोड, बैशाख ११ । मोरङ उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरको मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा पूर्वेली युवा क्लब बिर्तामोडलाई टाइब्रेकरमा हराउँदै ढल्के जोवन उपाधिनजिक पुगेको हो । टाइब्रेकरमा ढल्के जोवनले पूर्वेलीले ५–४ गोल अन्तरले हराएको हो ।

यसअघि निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा अग्रता ढल्के जोवनले लिएको थियो । तर, सम्हालिन नसक्दा पूर्वेलीले बराबरी गोल फर्काएको थियो ।

२–० गोलको अन्तरलाई उल्टाउँदै पूर्वेली खेलमा फर्किएको थियो । खेलको अन्तिम समयमा पूर्वेलीले बराबरी गोल फर्काएको हो ।

ढल्के जोवनका लागि खेलको १८ औँ र ३६ औँ मिनेटमा केन्द्र लिम्बूले गोल गरेका थिए । तर, खेलको ५० औँ र ५८ औँ मिनेटमा पूर्वेलीका विक्रम श्रेष्ठले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

खेलको प्लेयर अफ द म्याच ढल्के जोवनका केन्द्र लिम्बू भए । उनले नगद २१०० रुपैयाँ पाए । उपाधिका लागि शनिबार आयोजक चन्द्रगढी भेट्रान क्लब र ढल्के जोवन खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer