
बिर्तामोड, बैशाख ११ । सर्वोच्च अदालतले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई स्थानहद तोकेर अनुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य स्थान तोकेर राख्न र अनुसन्धान गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुइँकेलले अमेरिका जानुअघि उनीहरू बसेको वा अन्य स्थान तोकेर अनुसन्धान गर्ने आदेश भएको बताए। उनले भने, ‘प्रहरी हिरासतमा रहेका उनीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य स्थान तोकेर अनुसन्धान गर्न आदेश भएको छ।’
अमेरिकाले निष्कासन गरेका चार भुटानी शरणार्थीको हकमा सर्वोच्चले यस्तो आदेश दिएको हो। अमेरिकाले उनीहरूलाई भुटान निष्कासन गरेको थियो। तर, वाशिङ्टनस्थित भुटानी दूतावासबाट जारी भएको ट्राभल डकुमेन्ट भुटानले नियन्त्रणमा लिएर उनीहरूलाई भारत हुँदै नेपाल पठाएको थियो। नेपाल प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीले चैत १६ गते ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र चैत १८ गते ३० वर्षीय अशोक गुरुङलाई पक्राउ गरेको थियो।
काँकडभिट्टा नाकाबाट प्रवेश गरेका सुवेदी, तामाङ र दर्जी दमक नगरपालिका-३ बेलडाँगी शिविरबाट पक्राउ परेका थिए भने गुरुङलाई सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका-४ स्थित मिलनटुङ सीमा नाकाबाट लुकीछिपी पैदल छिरिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय काँकडभिट्टामा छन्।