
बिर्तामोड, बैशाख १३ । झापाको शिवसताक्षीस्थित निर्माणाधीन एसियन हाइवेमा बस दुर्घटना हुँदा २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस शिवसताक्षीस्थित दुधे माईधार सडक खण्डको मिलनचोकमा आज बिहान ४ः४० बजे दुर्घटना भएको हो ।
प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको बस दुर्घटना हुँदा मेचीनगरका १३ जनासहित २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
उनीहरूको बिर्तामोडस्थित बिएन्डसी, बिर्तासिटीलगायत अस्पतालमामा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसमा काठमाडौँमा जारी आन्दोलनमा सहभागी भएर फर्कदै गरेका शिक्षकहरु चढेको प्रहरीले जानकारी दिएको छ ।
शिक्षक धर्मेन्द्र भट्टराईका अनुसार दुर्घटनामा घाइते शिक्षकहरु श्याम आचार्य, सीताराम रिमाल, पदम पौडेल, कमला मगर, शन्ति राई, मीनबहादुर पौडेल, लीलाप्रसाद भण्डारी र सिर्जना प्रसाईंको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, टेकचन्द्र फुयल, गोपाल खतिवडा, लोकनाथ ढकाल, पूर्णबहादुर योगी, अनिल विक, शान्तिप्रसाद उप्रेती र सीताराम अधिकारीको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।