
बिर्तामोड, बैशाख १४ । झापाका केही स्थानमा आज एकाबिहानै वर्षा भएको छ । मेघगर्जन/चट्याङसहित हल्का वर्षा र असिना पानी परेको हो ।
बिर्तामोड आसपासम लगभग १५ मिनेट वर्षा भएको थियो । आज आइतबार देशका केही क्षेत्रमा हल्का वर्षा र केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम आइतबार रातिसम्मै जारी रहनेछ ।
यसैगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णालीबाहेकका बाँकी प्रदेशमा तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ ।
वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।