२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

मलेसियाको रोजगारी आंशिक रूपमा खुला


बिर्तामोड, बैशाख १६ । करिब एक वर्षदेखि बन्द मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ। मलेसियास्थित नेपाली दूतावासले सेवा क्षेत्र र कृषि, निर्माण लगायतका विभिन्न क्षेत्रमा रोजगारीको अवसर प्रदान गरेको जानकारी दिएको हो ।

दूतावासले खुला भएका क्षेत्रमा होलसेल एन्ड रिटेल, सेक्युरिटी गार्ड, ल्यान्ड वेयरहाउजिङ, गोल्डस्मिथ्स, टेक्सटाइल, टुरिजम, कृषि क्षेत्रमा फिसेरिज र लाइभस्टक, प्लान्टेसन र कन्स्ट्रक्सन क्षेत्रको मागपत्र खुलेको जानकारी दिएको छ।

यसले मलेसियामा रोजगारीको अवसर खोजिरहेका नेपाली कामदारका लागि नयाँ ढोका खोलेको छ। यद्यपि, उत्पादन क्षेत्रको रोजगारीका लागि नेपाली कामदारको चासो अझै कायम रहेको छ।

दूतावासका काउन्सिलर कृष्णप्रसाद भुसालका अनुसार मागपत्र प्रमाणीकरणका लागि दूतावासमा फाइल प्राप्त भइरहेका छन् र आगामी दिनमा थप प्रक्रिया पूरा गरेर कामदारहरूलाई शून्य लागतमा मलेसिया जान पाउने व्यवस्था गरिएको छ।

यद्यपि, मलेसियामा हालै न्यूनतम तलब १७०० रिंगेट (करिब ५३,००० नेपाली रुपैयाँ) कायम गरिएको भए पनि सेक्युरिटी गार्डजस्ता क्षेत्रमा काम गर्ने नेपाली कामदारहरूको तलब समयमै नपाएको गुनासो उठेको छ।

नेपालबाट मलेसिया जाने कामदारहरूको स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका लागि लगानी गरेर कामदारले आफ्नो पहिलो महिनाको तलबबाट फिर्ता गर्ने व्यवस्था गरिएको छ।

मलेसियामा काम गर्ने नेपाली कामदारहरूको रुचिमा अब खाडी मुलुकको तुलनामा मलेसिया प्राथमिकतामा पर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

मलेसियामा करिब ४ लाख नेपाली वैधानिक रूपमा काम गर्दै आएका छन्। यसका साथै, मलेसिया सरकारले विभिन्न सेवा क्षेत्रका कामदारका लागि नयाँ एप्रुभल प्रक्रिया सुरु गरेको छ, तर उत्पादन क्षेत्रको मागपत्र कहिले खुला हुने भन्ने चासो भने अझै समाधान भएको छैन।

Adv footer