
बिर्तामोड, बैशाख १६ । झापाको बिर्तामोडमा राष्ट्रियस्तरको ‘उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता यही जेठ २, ३ र ४ गते बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुनेछ ।
आयोजक बिर्तामोड चेस क्लबले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको सहआयोजक किरात याक्थुङ चुम्लुङ बिर्तामोड रहेको प्रेस संयोजक विजय बरालले जानकारी दिए ।
क्लबका उपाध्यक्ष एवम प्रतियोगिता निर्देशक ज्वाला इम्बुङ लिम्बूका अनुसार प्रतियोगितामा देशभरका १५० जनाभन्दा बढी राष्ट्रिय तथा अन्य खेलाडीहरू सहभागी हुने छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार, दोस्रो ३५ हजार, तेस्रो ३० हजार रहेको छ । १५ औँ स्थानसम्मका खेलाडीलाई नगदसहित पुरस्कृत गरिने क्बलका अध्यक्ष नारायण राईले जानकारी दिए ।
प्रतियोगितामा विधागत र भूगोलको आधारमा समेत पुरस्कार दिइनेछ । विधागततर्फ अनरेटेड टप, रेटेड, भेट्रान, महिला, उमेर समूह, फरक क्षमता र अनुशासित रहेका छन् ।
त्यस्तै, भूगोलतर्फ कोशी प्रदेश टप, झापा टप, बिर्तामोड नगर टप, बिर्तामोड स्कुल टप, बिर्तामोड महिला टप रहेको संयोजक लिम्बूले बताए ।
प्रतियोगितामा तीन लाख ३१ हजार ५०० रुपैयाँ पुरस्कार वितरण गरिनेछ भने व्यवस्थापनका लागि छ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सहआयोजक चुम्लुङका अध्यक्ष हिमालय कन्दङवाले जानकारी दिए ।