
बिर्तामोड, बैशाख १६ । नेपाल हक्की संघको आयोजनामा हुने राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताका लागि कोशी प्रदेशको टिमको विदाइ गरिएको छ ।
भोलि बैशाख १७ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको टिमको एक कार्यक्रमबीच भद्रपुरमा विदाइ गरिएको हो । स्थानीय युवा परिवार र अभिभावकले खेलाडीहरुलाई विदाइ गरेका थिए ।
प्रतियोगितामा भाग लिने कोशी प्रदेश टिमका सबै १५ जना खेलाडी भद्रपुर र मेचीनगर नगरपालिकाबाट रहेको कप्तान दिपक खतिवडाले जानकारी दिए ।
खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछन् । पुरुषमा आठ तथा महिलामा चार समूहले प्रतिस्पर्धा गर्नेछन् ।
कोशीले पहिलो खेल बैशाख १८ गते मधेश प्रदेशसँग खेल्नेछ । त्यस्तै, दोस्रो खेल बैशाख २० गते गण्डकी प्रदेशसँग र अन्तिम खेल बैशाख २१ गते नेपाल आर्मीसँग खेन्लेछ ।
पुरुषमा मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र एपिएफ क्लब सहभागी हुनेछन् ।
पुरुषमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने समूहले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई दुई हजारबाट पुरस्कृत गरिनेछ ।
टिम कोशीः दिपक खतिवडा, सुदिप चौधरी, रोहित राजवंशी, उत्सव दर्जी, लक्ष्मण समरिया, गौरव थापा, सन्तोष बेस्रा, समिर चौधरी, आर्यन चौधरी, पवन राजवंशी, शौरभ दंगाल, शौरभ विक, अमित धिताल, योगेशकुमार बाह्रघरे, विसन मुर्मू । प्रशिक्षकः रविन सुनुवार