
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा हुने प्रतियोगिताको आयोजक बिर्तामोड स्पोट्र्स सेन्टर नै हो ।
पूर्वमा अहिलेसम्मकै ठुलो पुरस्कार राशी र धेरै टिम सहभागी फुटसल प्रतियोगिता हुन लागेको सेन्टरका सञ्चालक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वअन्तरिम प्रशिक्षक प्रवेश कटवालले जानकारी दिए ।
अर्का सञ्चालक सञ्जीव प्रसाईंका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ ।
प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहने अर्का सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ ।
