
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ठक्करबाट मृत्यु हुनेमा झापा अर्जुनधारा-१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल रहेका छन् । दुर्घटनामा घाइते बराललाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज साँझ ५ः३० बजे मेचीनगर-१३ प्रगति सामुदायिक वन चारआलीमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख २३५३ को ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रक, ट्रक चालक पाँचथर फिदिम-११ बस्ने ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।