
बिर्तामोड, बैशाख १७ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेललाई प्रदान गरिने भएको छ ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान उनीहरुलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतले जानकारी दिए ।
मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका उनीहरुलाई यस वर्षको सम्मान प्रदान गरिने भएको हो ।
पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्र वीर विक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।
उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै यही बैशाख २० गते एक समारोहका बीच संयुक्त रुपमा सो सम्मान प्रदान गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठान सभापति बस्नेतले जानकारी गराएका हुन् ।
प्रतिष्ठानका सभापति बस्नेतको अध्यक्षतामा गत बुधबार बसेको बैठकले समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो वर्षको सम्मान भण्डारी र भुर्तेललाई प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिष्ठानले विगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । गत वर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हास्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
बैशाख २० गते बिर्तामोडस्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलको सभाहलमा आयोजना गरिने सो कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने बस्नेतले जानकारी दिए ।