
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मृत्यु भएका टंकप्रसाद बराल गाविसका पूर्वउपाध्यक्ष रहेको खुलेको छ ।
अर्जुनधाराका युवा लबकुश गौतमका अनुसार बराल साविक शनिश्चरे गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हुन् । उनी २०५४ सालमा उपाध्यक्ष निर्वाचित भएका थिए ।
बराल सुखानी सहिद स्मृति उद्यान सालबारीका अध्यक्ष, सरस्वती बाल कल्याण मावि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, शनिश्चरे माविका पूर्वसदस्य, झापा जिल्लाले चिनेको सहकारी अभियन्ता थिए ।
अर्जुनधारा–१० चुथाईका ६८ वर्षीय बरालको आज दिउँसो भएको सडक दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते बराललाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज साँझ ५ः३० बजे मेचीनगर–१३ प्रगति सामुदायिक वन चारआलीमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख २३५३ को ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प ६४९८ नम्बरको मोटरसाइकलमा रहेका बराललाई ठक्कर दिएको थियो ।
ट्रक, ट्रक चालक पाँचथर फिदिम–११ बस्ने ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।